चीन र भारतबाट ५ वर्षमा भित्रियो साढे ५ अर्बको लसुन



काठमाडौं । साढे ५ वर्षमा नेपालमा साढे ५ अर्बको लसुन मात्रै आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आवको जेठसम्ममा चीन र भारतबाट ५ अर्ब ५२ करोड ७६ लाख रुपैयाँबराबरको लसुन आयात भएको हो ।

आव २०७६/७७ देखि चालू आवको जेठसम्मका चार वर्षमा चीनबाट मात्रै ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँको लसुन आयात भएको छ । त्यस्तै भारतबाट ९० करोड १९ लाखको आयात भएको छ । आव २०७५/७६ मा देशअनुसार लसुन आयातको विवरण भन्सार विभागले उल्लेख गरेको छैन ।

पाँच वर्षको अवधिमा ५० हजार २१२ मेट्रिक टन लसुन नेपाल भित्रिएको छ । नेपालले आर्थिक वर्ष २०७५/७६ मा ८३ करोड ३० लाख रुपैयाँबराबरको ९ हजार २७७ मेट्रिक टन, आव २०७६/७७ मा ७५ करोड ४२ लाखबराबरको ६ हजार ९७३ मेट्रिक टन र २०७७/७८ मा १ अर्ब ५० करोड १९ लाख रुपैयाँबराबरको १३ हजार ४२५ मेट्रिक टन लसुन आयात गरेको छ ।

त्यस्तै आव २०७८/७९ मा १ अर्ब २४ करोड ८ लाख रुपैयाँबराबरको १० हजार ४९६ मेट्रिक टन र चालू आवको ११ महिनामा १ अर्ब १९ करोड ७६ लाख रुपैयाँबराबरको १० हजार ४० मेट्रिक टन लसुन आयात भएको छ ।

दुवै देशबाट सुकेको लसुन र धुलो (पेस्ट) नेपाल भित्रिने गरेको छ । नेपाली भान्सामा लसुन मसलाको रुपमा प्रयोग हुन्छ । खानाको स्वाद बढाउन प्रयोग गरिने लसुन औषधिको रुपमा पनि उपयोग हुन्छ ।

विशेषगरी लसुनले उच्च रक्तचाप कम गर्ने, कोलस्ट्रोलका स्तर घटाउने, हृदयरोगबाट बचाउने तथा क्यान्सर हुनबाट रोक्ने विभिन्न अध्ययनले देखाएका छन् । तौल बढ्नु, चोटपटक लागेमा लामो समय रगत बग्नु तथा सास गन्हाउनु लसुनका बेफाइदा हुन् ।


क्लिकमान्डु