घरबहालमा कठोर बन्यो महानगर: न्यून बहाल देखाएर बढी लिएको पाइए १० प्रतिशत जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको छ । करमा छुटसम्बन्धी व्यवस्था गर्दै महानगरले असुलीमा पनि कठोर बन्ने प्रस्ट पारेको हो ।

आगामी वर्ष २०८०/८१ को आर्थिक विधेयक पेस गर्दै प्रमुख बालेन्द्र शाहले महानगर क्षेत्रभित्रका व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पुरै या आंशिक तवरले बहाल लगाएकोमा बहाल कर संकलन गरिने उल्लेख गरेका हुन् ।

व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ । आवासीय प्रयोजनको कर दाखिला गर्ने दायित्व तथा जिम्मेवारी घरधनीको हुनेछ भने सम्पत्ति कर र बहाल कर एकैपटक असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ । तर, १ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र अन्य आम्दानीको स्रोत रहेका करदाताले भने छुट पाउने छैनन् ।

कसैले छुट पाउनका लागि बहाल करको रकम घटाएमा १० प्रतिशत जरिवाना लिइने महानगर प्रमुख शाहले जानकारी गराए । तर घर बहालमा लगाउनेले भन्दा पनि अहिले घर बहालमा लिनेले कर तिर्नुपरिरहेकोतर्फ भने बजेटमा केही उल्लेख छैन ।


क्लिकमान्डु