शिक्षा क्षेत्रमा काठमाडौं महानगरले छुट्यायो १ अर्ब ३२ करोड बजेट, ‘गरिखाने शिक्षा, महानगरको इच्छा’



काठमाडौं । काठमाडौं महानगरपालिकाले अ आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालनका लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम बिनियोजन गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले शिक्षा क्षेत्रमा यो बजेट बिनियोजन गरिएको बताइन ।

महानगरभित्रका सम्पूर्ण विद्यालयहरुमा पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाअन्तर्गत विभिन्न कार्यक्रमका लागि ५० करोड बिनियोजन गरिएको बताइन् ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनका लागि ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयअन्तर्गत एक विद्यालयमा एक नर्स र एक विद्यालयमा एक सामाजिक सहजकर्ता पनि व्यवस्थापन गर्ने भएको छ । साथै, सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुमधये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि मात्र खाजा खर्च उपलब्ध गराउँदै आइएकोमा आगामी आवदेखि डिजिटल हारिजि प्रमाणित भइ अलिभेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाइएको डंगोलले बताइन ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब र मासिक भत्ता भुक्तानी गर्न ३० करोड रुपैयाँको छुट्टै शोधभर्ना कोषको पनि व्यवस्था गरेको छ । साथै, सबै सामुदायिक विद्यालयका प्रधानाध्याकहरुका लागि मासिक भत्ता बृद्धि गरेको पनि डंगोलले बताइन् ।

महानगरले आगामी आव २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।


क्लिकमान्डु