प्राइम बैंक र फोनपेको सहकार्यमा दोलखाको जिरीमा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’



काठमाडौं । डिजिटल बैंकिङबारे जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त सहकार्यमा दोलखाको जिरी नगरपालिकामा ‘विद्युतीय वित्तीय साक्षरता कार्यक्रम’ गरिएको छ ।

सुरक्षित एवं सहज तरिकाबाट रकमान्तर गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाका उपाय अवलम्बन गर्ने जस्ता विभिन्न पक्षलाई समेट्दै जिरीमा विद्यार्थी, शिक्षक तथा जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारणलाई साक्षरता कार्यक्रमको आयोजना गरिएको हो ।

प्राइम कमर्सियल बैंक र फोनपेको संयुक्त आयोजना र सहकार्यमा सञ्चालित कार्यक्रमको उद्घाटन जिरी नगरपालिका प्रमुख मित्रबहादुर जिरेलले गरेका थिए । कार्यक्रममा उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजू, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत, तारा दल गण प्रमुख शेरबहादुर बस्नेत, बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, सहायक महाप्रबन्धक सुरेशमान सिंह, फोनपे चिफ बिजनेस अफिसर सुमित दास, बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठलगायतको सहभागिता थियो ।

प्राइम कमर्सियल बैंकको मोबाइल बैंकिङ एपमा भएको क्यूआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको प्रयोग गरी रकम स्थानान्तरण तथा विभिन्न सेवा तथा वस्तु प्रदायकमा भुक्तानी गर्न सकिने महाप्रबन्धक अमृतचरण श्रेष्ठले बताए । त्यस्तै विद्युतीय वित्तीय कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर-बैंक कारोबारमार्फत तुरुन्तै रकम पठाउन सकिने फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले जानकारी गराए ।

कार्यक्रममा विद्युतीय कारोबारबाट हुने फाइदा र हुनसक्ने अपराध र रोकथामका तरिकाबारे पनि अन्तर्क्रिया एवं समाजमा घटेका घटनामाथि छलफल भएको थियो ।


क्लिकमान्डु