सुनसान बन्दै म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ



म्याग्दी । अगाडि उर्लेर बग्ने म्याग्दी नदी । वरिपरि डरलाग्दा पहाड । पहाडका फेदमा छन् स्याउला र टिनले छाएका छाप्रा । एक-दुई मात्र ढुङ्गेघर । यो पातलो बस्तीका सानो बजारमा व्यापारीलाई भने एकछिन पनि हात खाली हुँदैनथ्यो । ती दिन एकादेशको कथा जस्तै बनेका छन् अहिले ।

यस्तो अवस्था पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारको हो । जतिबेला बेनी-दरबाङ सडकको ट्र्याक खुलेको थिएन । मानिस पैदल ओहोरदोहोर गर्थे त्योबेला दरबाङको रौनक छुट्टै थियो । डेढ दशकअघि बेनी-दरबाङ सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन हुन थालेपछि भने दरबाङको अवस्था फेरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ मा पर्छ दरबाङ बजार । सडकको पहुँचसँगै दरबाङ बजारको क्षेत्र विस्तार भएको छ । पक्की घरले दरबाङ भरिभराउ छ । व्यापार व्यवसाय भने खस्किँदै गएपछि यहाँका व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् ।

गाउँपालिकाको केन्द्र दरबाङ पश्चिम म्याग्दीका मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको पश्चिमी भेगका दर्जन बढी गाउँकोसमेत प्रमुख व्यापारिक केन्द्र हो । दरबाङ बजारमा घर निर्माणको क्रम बढेर बजार विस्तार भए पनि व्यापार भने खस्किँदै गएको स्थानीय पुराना व्यापारीले बताएका छन् ।

त्यसमा पनि कोरोना महामारीसँगै उत्पन्न भएको आर्थिक मन्दीका कारण विप्रेषणमा आएको कमी र गाउँगाउँमा पुगेको मोटरबाटोका कारण यहाँको व्यापार व्यवसाय घट्दै गएको दरबाङ होटल व्यवसायी सङ्घका अध्यक्ष अमृत सापकोटाले बताए ।

२० वर्षदेखि दरबाङ बजारमा व्यापार गर्दै आएका सन्तोष सुवेदीले दरबाङमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाए । पाँच वर्षयता (कोरोना महामारी सुरु भएपछि) को आर्थिक मन्दी र ग्रामीण सडकका कारण पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङका व्यवसायी फुर्सदिला बनेका छन् । ग्राहकको चापले खाना खाने समय नपाउने दरबाङ बजारका व्यापारी व्यापार घट्दै गएपछि फुर्सदिला बनेका हुन् ।

एक दशक अघिसम्मको टहरा र ढुंगेघर भएको दरवाङमा अहिले तीव्ररुपमा घर निर्माणको क्रम बढे पनि व्यापार व्यवसाय भने धराशयी बन्दै गएको होटल व्यवसायी संघका अध्यक्ष सापकोटाले बताए । ‘दरबाङमा टहरा र केही ढुंगे घर थिए, अहिले घरैघरले भरिएको ठाउँ ऊ बेला बारी, झाडी, घोडा र खच्चडको चरन क्षेत्र थियो,’ उनले भने, ‘बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्थ्यो, उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सद पाइँदैनथ्यो, अहिले बजार बढ्यो तर व्यापार खस्कियो ।’

१० वर्ष अघिसम्म पश्चिम म्याग्दी र तमान, लामेला, ढोरपाटनलगायत क्षेत्रको व्यापारिक केन्द्र दरबाङ बजार थियो । धौलागिरि हिमाल आरोहण गर्न जाने पर्यटक, पदयात्री मात्र नभएर खाद्यान्न, लत्ताकपडा खरिदका लागि आएका गाउँका मानिसले दरबाङ बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थे ।

जिल्ला सदरमुकाम बेनी बजार जाने आउनेको ‘ट्रान्जिट’ दरबाङ थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले त्यो कुरा एकादेशको कथामा परिणत भएको दरबाङमा व्यापार गर्दै आउनुभएको मिनबहादुर सिउथानी मगरले बताए ।

अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी दरबाङमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् ।

पुराना व्यापारी भीमबहादुर पुनले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए । ‘बेनी, नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो, ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे,’ उनले भने, ‘अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ, डिलरले गाडीमा ग्राहकको घरदैलोमै पुर्‍याउँछन्, किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।’

एक किलोमिटर दूरीमा म्याग्दी नदीको किनारमा फैलिएको दरबाङ बजार मालिका-६ मा पर्छ । यहाँ २ सयभन्दा बढी घर छन् । दरबाङमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने यो बजार अहिले सुनसान भएको स्थानीय मिमबहादुर सुनारले बताए ।

पुराना व्यापारी धेरैले दरबाङ छाडिसकेका छन् । त्यसबेलाका व्यवसायी पोखरा, चितवन र काठमाडौँ सरेका हुन् । गाउँबाट दरबाङ झरेर घर निर्माण गरी बस्ने क्रम बाक्लिएको छ । यहाँको व्यापार दरबाङ क्षेत्रमा बसोबास गर्ने बासिन्दाबाट नै धानिएको छ । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् ।

शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न बजारको व्यापार व्यवसाय खस्किँदै गए पनि छोराछोरी पढाउन बजारमा कोठा लिएर बसेका मानिस र विद्यार्थीका कारण ससाना पसल तथा व्यवसाय धानिएको स्थानीय हिराबहादुर पुनले बताए ।

बेनी-दरबाङ सडक विस्तार र स्तरोन्नतिसँगै पश्चिम म्याग्दीका गाउँगाउँबाट सिधै पोखरा-काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । संघीयता कार्यान्वयनपछि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको सेवा विकेन्द्रीकृत भएपछि गाउँ‑गाउँमा समेत बैंक तथा वित्तिय क्षेत्रको पहुँच पुगेको छ ।

मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका तीन वर्षमा भएको बन्दाबन्दीले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको स्थानीय व्यापारीले बताएका छन् । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।


क्लिकमान्डु