केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका छन् ।

अध्यक्ष हमालले बिहीबार दिउँसो सुपरिवेक्षण विभाग प्रमुख विनयदेव आचार्यलाई मेमो लेख्दै असार १५ गतेभित्र सञ्चालक समितिको बैठकमा पेस गर्ने प्रस्ताव तयार गर्न निर्देशन दिएका हुन् ।

‘केयर रेटिङलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको साढे ५ महिना भएको छ,’ हमालले लेखेको मेमोमा भनिएको छ,‘केयर रेटिङले पेस गरेको स्पष्टीकरण र अन्य ऐन, नियम र कानुन अध्ययन गर्दै बोर्डको सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा असार १५ गतेभित्र प्रस्ताव तयार गर्दै पेस गर्नु होला ।’

हमालले सुपरिवेक्षण विभाग प्रमुख आचार्यलाई सञ्चालक समितिमा पेस गर्ने प्रस्ताव तयार गर्न लिखित निर्देशन दिएसँगै कानुन विपरित आफ्ना शेयरधनीका कम्पनीको रेटिङ गरेको आरोप लागेको केयर रेटिङलाई कारबाही हुने भएको छ ।

स्रोतका अनुसार सुपरिवेक्षण विभागले कानुन विपरित रेटिङ गरेको आरोपमा केयर रेटिङलाई जरिवाना गर्ने र केयरले स्वार्थ बाझिने गरि गरेका सबै रेटिङ खारेज गर्नु पर्ने राय सहितको प्रस्ताव सञ्चालक समितिमा पेस गर्ने तयारी गरेको छ ।

‘सञ्चालक समितिले अध्यक्षले पेस गर्ने प्रस्ताव अनुसार नै कारबाही गर्ने सम्भावना छ,’बोर्डका एक निर्देशकले भने,‘केयरलाई अहिले गत पुसमा सोधिएको स्पष्टीकरणका आधारमा कारबाही गर्न लागिएको हो । घोराही सिमेन्टका विषयमा तत्कालै अध्ययन समाप्त नहुने भएकाले अहिले नै कस्तो कारबाही हुन्छ भनेर भन्न सकिन्न ।’

केयर रेटिङले कानुन विपरित रेटिङ गरेको भन्दै नेपाल धितोपत्र बोर्डले पुस २८ गते स्पष्टीकरण सोधेको थियो । बोर्डले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनी रहेको कम्पनीको रेटिङ गरेको भन्दै केयरलाई जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

बोर्डले सोधेको स्पष्टीकरण पत्रमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने उल्लेख थियो ।

सेबोनले क्रेडिट रेटिङ नियमावली २०६८ उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै रेटिङ नियमावली २०६८ अनुसार त्यस्ता कम्पनीको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भन्ने प्रश्न गरेको थियो ।

नेपालको संविधानको धारा ७ मा देवनागरीक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख भए पनि केयर रेटिङले माघ २० गते धितोपत्र बोर्डमा अंग्रेजी भाषामा स्पष्टीकरण पेस गरेको थियो ।

बोर्डले नेपालीमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएपछि कम्पनीले फागुन पहिलो साता आफूले कानुन विपरित स्वार्थको द्वन्द्व हुने गरी काम नगरेको दाबी गर्दै बोर्डमा स्पष्टीकरण पेस गरेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तिमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोर रेटिङ उद्घोषणमा खुलाउनुपर्ने व्यवस्था छ ।

तर, केयर रेटिङमा विभिन्न नाममा २० प्रतिशत अन्तिम लाभग्राही बिशाल ग्रुप हुँदा समेत केयरले बिशालको लगानी भएका कम्पनीले रेटिङ लगाउँदै आएको थियो ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी शेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्था विपरित केयरले विशाल गुप्रको १० प्रतिशत भन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

२०७९ साउनमा रेटिङ कम्पनीले आफ्नो लगानीकर्ता कम्पनीको रेटिङ गरेको गुनासो आएपछि धितोपत्र बोर्डले अनुसन्धान शुरु गरेको थियो । बोर्डले केयर रेटिङले नियम विपरित रेटिङ गरिरहेको पाएपछि स्पष्टीकरण सोधेको थियो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २०७९ साउनमा क्लिकमान्डुसँग छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको बताएका थिए ।

‘रेटिङ कम्पनीले नियम विपरीत काम गरेको गुनासो आएको छ, केहीले देखिने गरेर आफ्नै लगानीकर्ताको कम्पनीको रेटिङ गरेको भेटियो, हामीले सबै विवरण माग गरेर अध्ययन गरेका छौ,’ हमालले क्लिकमान्डुसँग भनेका थिए ।

बोर्डले ६ महिनाको अध्ययन पुस मसान्तमा स्पष्टीकरण सोधको थियो । तर, त्यसपछि धितोपत्र बोर्डमा केही कर्मचारीले अप्रत्यक्ष नियन्त्रण हुँदैमा स्वार्थको द्वन्द्व भन्न नमिल्ने तर्क गरे ।

केही कर्मचारीले अन्तिम हितग्राही एउटै भएको अवस्थामा स्वार्थको द्वन्द्व मान्नु पर्ने तर्क गरे । तर, डेढ महिनाको छलफलपछि केयरले कानुन विपरित काम गरेको दाबी गर्दै स्पष्टीकरण सोध्नु पर्ने राय दिएका सुपरिवेक्षण विभागका अधिकारीले केयर रेटिङ दिएको तर्कमा सहमत भए । तर, स्वार्थको द्वन्द्व पुष्टी गर्ने आधार नभएको प्रस्ताव तयार गरे ।

बोर्ड अध्यक्ष हमालले सुपरिवेक्षण विभागको केयरलाई कारबाही गर्न नसकिने व्यहोराको उक्त प्रस्ताव सञ्चालक समितिमा लगेनन् ।

गत चैतमा सुपरिवेक्षण विभागको नेतृत्व हेरफेर भयो । तर, पनि केयर रेटिङलाई स्वार्थको द्वन्द्वमा कारबाही गर्ने प्रस्ताव अगाडी बढेन ।

सुपरिवेक्षण विभागले फेरी केयरले युनाईटेड डिस्ट्रीब्युटर लगायतका कम्पनीमा गरेको रेटिङ र स्वार्थको द्वन्द्व कसरी पुष्टी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरेको थियो ।


शरद ओझा