गैरसरकारी संस्थालाई विद्युत् प्रसारण लाइन बनाउन दिनु हुँदैन, पोल सार्न ५० अर्ब चाहिन्छः कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भुमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठ्यारो व्यहोर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताए । खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै उनले प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने बताए ।
भूमिगत गर्ने काम निकै अप्ठ्यारो रहेको भन्दै उनले सबै निकायको समन्वय आवश्यक पर्ने बताए । तार भूमिगत गर्ने काम गरुन्जेल दुई, चार महिना अप्ठ्यारो व्यहोर्नुपर्ने बताए । प्रवन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रसारण लाइन बनाउन दिनु नहुने बताए । एउटा प्रसारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानूनी व्यवस्था गर्न सांसदहरुलाई ध्यानाकर्षण गराए ।
‘भूमिगत हामीले गरिरहेका छौँ । अलिकति काठमाडौंमा तारमा मात्रै होइन खानेपानीको पनि धेरै भूमिगत कामहरु भइरहेको छ । हामीले गरिसकेपछि खानेपानीको नसकिएसम्म त्यसलाई पिच गर्नसक्ने स्थिति छैन । म काठमाडौंका सबै पब्लिकलाई के अनुरोध गर्न चाहन्छु भने भूमिगत गर्नलाई धेरै नै अप्ठ्यारो स्थिति छ । सडकको, सबैको समन्वय भएन भने यो प्रोजेक्ट सम्पन्न गर्न गाह्रो छ’ उनले भने ।
उनले देशभरीको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए ।