बालेनको ध्यान डोजरमा, महानगरको विकास खर्च १२ प्रतिशत मात्रै



काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारसम्म जम्मा १२ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ ।

लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेर चर्चा बटुलेको काठमाडौं महानगरपालिकाको खर्च भने चालुतर्फ ज्यादै न्यून गरेको छ । यसले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तह पनि बजेट खर्च गर्न नसक्ने रोगको सिकार बनेको देखिएको छ ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा चालु खर्चका लागि ७ अर्ब ५३ करोड रुपैयाँ र पुँजीगत तर्फ ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ अर्थात कुल बजेटको ४९.५७ प्रतिशत छुट्याएको थियो ।

बुधबारसम्म महानगरले चालुतर्फ ३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ अर्थात १२ र पुँजीगत तर्फ १ अर्ब ४५ करोड अर्थात् १२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । बाँकी सामाजिक सुरक्षा लगायत शीर्षकमा खर्च भएको काठमाडौं महानगरले जनाएको छ ।

महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले पुँजीगत खर्च गर्नतर्फ ध्यान नदिएका कारण, महानगरले टेण्डर समयमा नै नगरेका कारण पुँजीगत खर्च गर्न नसेकेको महानगर स्रोतको भनाइ छ । चालु आवका लागि महानगरले ठूलो रकम महानगरको भवन निर्माणका लागि विनियोजन गरेको थियो । महानगरले भवन निर्माणका लागि कुनै काम गर्न सकेको छैन ।

अख्तियारमा परेको उजुरीका कारण महानगरको भवन निर्माण रोकिएको छ ।

महानगरको भवन निर्माणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले इन्जिनियरलाई मुद्दा दायर गरेको थियो । जसका कारण कर्मचारी काम गर्न डराएको महानगर स्रोतको भनाइ छ । महानगर प्रमुख बालेन्द्र शाह आफै इन्जिनियर भएर पनि इन्जिनियरहरुलाई काम गर्न मनोबल नबढाएका कारण समस्या भएको बताइएको छ ।

‘मेयरले कर्मचारीहरुलाई काम गर्न प्रोत्साहन गर्नु भएको छैन’ महानगरका एक कर्मचारीले भने, ‘उहाँलाई पुँजीगत खर्च कसरी बढाउने भन्ने चिन्ता छैन, सस्तो लोकप्रियतामा रमाउनु भएको छ । कर्मचारीलाई मनोबल बढाउने कुनै काम भएको छैन । इन्जिनियरहरुलाई अख्तियारले मुद्दा दायर गरेपछि काम गर्न डराएका छन् । उहाँले कर्मचारीलाई तपाईहरुको पछाडि म छु अघि बढ्नुहोस भनेको भए काम गर्नेको मनोबल बढ्ने थियो । त्यसले पुँजीगत खर्च पनि बढ्ने थियो ।’

यो वर्ष महानगरमा पूर्वाधार निर्माण लगायतमा काम नभएको कर्मचारीको भनाइ छ । महानगरले बजेट खर्च गर्न नसकेपनि लक्ष्य भन्दा बढी आन्तरिक राजस्व संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले आन्तरिक आय बुधबारसम्म १००.३४ प्रतिशत गरेको छ ।


क्लिकमान्डु