वित्तीय संकट देखाउँदै बचतकर्ताको पैसा फिर्ता नगर्नेलाई कारबाही हुन्छ, ऋण नतिर्ने छुट छैनः रजिष्ट्रार घिमिरे



बागलुङ । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीबाट लगेको ऋण तिर्दिन भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

राष्ट्रिय सहकारी बैंकले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारीको ऋण नतिर्नेहरुलाई कानुनी कारबाही गरिने बताए ।

‘मुलुकमा कानुन छ, कानुन भएको मुलुकमा सहकारीबाट ऋण लगेर तिर्दिन भन्ने कुरा गलत हो, यस्ता खालका अराजकतालाई कानुन अनुसार कार्वाही हुन्छ’ उनले भने ‘ऋणीको जग्गा तथा उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत सम्पत्ती विक्री गरेर ऋण तिर्ने कानुनी व्यवस्था भएकाले ऋण नतिर्ने छुट कसैलाई पनि छैन ।’

सहकारीमा राखेको धितो वा धितो नराखेको भए पनि ऋणी र उसको हकभोग लाग्ने एकाघरको सम्पत्ती समेत बिक्री गरेर ऋण तिराउने व्यवस्था सहकारी ऐनमा रहेको उनले बताए । सहकारीबाट लगेको ऋण नतिरे राज्यले सहजीकरण गरेर ऋण तिर्ने वातावरण बनाउने उनले बताए ।

सहकारी क्षेत्रमा देखिएको पछिल्लो समयको समस्या वित्तीय संकटका कारण आएको भन्दै उनले सहकारीलाई नियम अनुसार सञ्चालन नगर्ने केही सहकारीहरुका कारण समेत देशभरका असल सहकारीहरुलाई समेत तरलता समस्या सिर्जना भएको उनले बताए ।

सहकारीका नाममा निजी सम्पत्ती जोड्ने, आफु र आफन्तका कम्पनी चलाउने र वित्तीय संकट देखाएर बचतकर्ताहरुको रकम फिर्ता नगर्नेहरुलाई कारबाही गरी बचतकर्ताहरुको रकम फिर्ता गराउनका लागि विभागले प्रक्रिया अगाडि बढाएको उनको भनाइ थियो ।

प्रभावकारी नियमन हुन नसकेका कारण सहकारीहरुले वित्तीय अनुशासन पालना नगरेको चर्चा गर्दै उनले सहकारीहरुलाई ऐन अनुसार सञ्चालनका लागि विभागले खबरदारी गर्ने बताए ।

सहकारी राम्रोसंग चलाउदै गर्दा वित्तीय क्षेत्रको संकटका कारण तरलता समस्या भएका सहकारीहरुले श्वेतपत्र जारी गरेर वचत फिर्ताका लागि समय तोक्न सक्ने व्यवस्था गरिएको छ ।

सहकारीको रकमबाट निजी सम्पत्ती जोड्न प्रयोग गर्नेहरुलाई कार्वाही गरेर वचतकर्ताको रकम फिर्ता गरिने उनले बताए ।


क्लिकमान्डु