बैंक तथा वित्तीय संस्थाको निक्षेप २६.९४% ले बढ्यो, कर्जा ११.३५% ले बढ्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप गत आवको सोही अवधिको तुलनामा २६.९४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पुस मसान्तमा कर्णाली प्रदेशमा निक्षेप २६.९४ प्रतिशतले बढेर ६२ अर्ब ५९ करोड २५ लाख पुगेको छ ।

गत अवधिमा यस्तो निक्षेप १३.५३ प्रतिशतले बढेर ४९ अर्ब ३० करोड ८० लाख रुपैयाँ पुगेको थियो । यो अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको बिस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमाका कारण निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ११.३५ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकबाट प्रवाह हुने कर्जा ११.३५ प्रतिशतले बढेर ५९ अर्ब ५० करोड ९७ लाख पुगेको छ । गत अवधिमा यस्तो कर्जा २७.८४ प्रतिशतले बढेर ५३ अर्ब ४४ करोड ६० लाख पुगेको थियो ।

आव २०७९/८० को साउनदेखि पुसमसान्तमा प्रदेशको कर्जा तथा निक्षेप अनुपात ९५.०६ प्रतिशत रहेको छ । उक्त अनुपात गत अवधिमा ११३.०७ प्रतिशत रहेको थियो ।

आव २०७९/८० को पुस मसान्तको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिन्छ ।

यो अवधिमा २२ अर्ब ११ करोड ४० लाख निक्षेप संकलन भएको छ । सोही अवधिमा ३६ अर्ब ४ करोड ३९ लाख कर्जा प्रवाहित भएको छ । त्यस्तै सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा १ अर्ब ७६ करोड भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम ५१ करोड ५९ लाख कर्जा प्रवाह भएको छ ।


क्लिकमान्डु