मैले लिएको नीतिले विदेशी विनिमय सञ्चिति ५ बाट ११ महिना पुग्यो, हुन्डीको कारोबार घट्यो: अध्यक्ष हमाल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफू बोर्डमा आएपछि ५ महिनाको विदेशी विनिमय सञ्चिति ११ महिना पुगेको र हुन्डीको कारोबार कम हुँदै गएको बताएका छन् ।

अर्थसमितिको मंगलबारको बैठकमा हमालले आफू बोर्डमा आएपछि  आईपीओमा १० प्रतिशत आरक्षण दिँदा ५ महिनाको विदेशी विनिमय सञ्चिति बढेर ११ महिना पुगेको दाबी गरेका हुन् ।

सेयरमा आरक्षणको नीतिले हुन्डी कारोबार पनि घटेको उनले बताए । ‘म बोर्डमा आएपछि अर्थतन्त्रको नयाँ हाइवे खुलेको छ,’ उनले भने, ‘वर्षौंदेखि हुन नसकेका काम मैले अघि बढाएको छु तर कुनै गलत गरेको छैन ।’

आफूले कुनै गलत मनसाय नराखी काम गरेको हमालले बताए । गल्ती भएको खण्डमा कारबाही गर्ने निकाय रहेकोमा आफू स्पष्ट रहेको उनको भनाइ छ ।

हमालले व्यवस्थापन समितिले कागजात संकलन गरेपछि बोर्डले आशयपत्र दिने र ३० दिनभित्र सबैलाई लाइसेन्स दिनुपर्ने भएकाले समितिले पत्र पठाए पनि समय अभावका कारण लाइसेन्स दिएको प्रस्टीकरण दिए ।


क्लिकमान्डु