सेयर बजार: पुँजीगत लाभकर ७७ प्रतिशत घट्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावटको असर राज्यले पाउने करमा पनि देखिएको छ ।

सेयर बजारमा आएको गिरावटसँगै राज्यले पाउने पुँजीगत लाभकर ७७.०३ प्रतिशतले घटेर २ अर्ब ३२ करोड १५ लाख ३९ हजार ३५१ रुपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा राज्यले सेयर बजारबाट १० अर्ब १० करोड ८० लाख ८८ हजार ७८५ रुपैयाँ पुँजीगत लाभकर पाएको थियो ।

जेठ मसान्तसम्म २ अर्ब ३२ करोड १५ लाख ३९ हजार ३५१ रुपैयाँ पुँजीगत लाभकर पाउँदा व्यक्तिगततर्फ दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले ८४ करोड ३८ लाख ९४ हजार १३३ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

यस्तै अल्पकालीन लगानीकर्ताले १ अर्ब २८ करोड ११ लाख ३६ हजार २९२ रुपैयाँ कर तिरेका छन् । यसले बजारमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ता बढी रहेको देखिन्छ । यस्तै राज्यले संस्थागततर्फ १९ करोड ६५ लाख ८ हजार ९२५ रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।

जेठमा मात्रै सरकारले पुँजी बजारमार्फत २५ करोड ९५ लाख २३ हजार २३५ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । जसमा दीर्घकालीन लगानीकर्ताले ९ करोड २ लाख ८३ हजार ६५४ रुपैयाँ र अल्पकालीन लगानीकर्ताले १२ करोड ८५ लाख ८ हजार ५३४ रुपैयाँ लाभकर तिरेका छन् । संस्थागततर्फ ४ करोड ७ लाख ३१ हजार ४६ रुपैयाँ कर राज्यले पाएको छ ।


क्लिकमान्डु