प्राधिकरणको नेतृत्व ६ वर्ष गरेपछि कुलमानले भने, ´ट्रान्समिसन लाइनमा समस्या छ, सुधार नभए बिजुली दिन कठिन हुन्छ´



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन निर्माणमा अन्य निकायले सहयोग नगरेको आरोप लगाएका छन् । ६ वर्षदेखि प्राधिकरणको नेतृत्व गरिरहेका प्रबन्ध निर्देशक घिसिङले राज्यका सबै निकायले प्रसारण र वितरण लाइन निर्माणलाई प्राथमिकता नदिए बिजुली आपूर्तिमा समस्या हुने बताएका हुन् ।

`प्राधिकरणलाई कुनै निकायले सहयोग गरेनन् भनेर मैले आरोप लगाउन खोजेको होइन । हाम्रो कामगराइ सुस्त भयो भन्ने मेरो भनाइ हो,´ उनले भने, `बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रसारण र वितरण लाइनमा सुधार हुनैपर्छ । यसमा सुधार गर्न सकिएन भने अर्बौं लगानी जोखिममा पर्ने सम्भावना छ ।´

प्राधिकरणका विषयमा जानकार व्यक्तिले घिसिङ प्रबन्ध निर्देशक भएपछि र त्यसअघि पनि प्रसारण र वितरण लाइन निर्माणमा जोड नदिँदा कमजोर पूर्वाधारको भरमा विद्युत वितरण भइरहेको छ । जग्गा प्राप्ति, रुख कटानलगायत समस्याका कारण प्रसारणलाइन निर्माण हुन नसकेकाले बिजुली वितरणमा समस्या देखिएको उनले बताए ।

`ट्रान्समिसन लाइनको ठूलो समस्या छ,´ घिसिङले भने, `समग्र राज्य लागेर प्रयास गरिएन भने ट्रान्समिसन लाइन बन्दैन । आगामी दिनमा ट्रान्समिसन लाइन बन्न सकेन भने हामीले उत्पादन गरेको ठूलो बिजुली खेर जाने जोखिम छ ।´

गत वर्षसम्म प्रसारण र वितरण प्रणालीमा प्राधिकरणले राम्रो काम गरिरहेको दाबी गरेका घिसिङले आगामी वर्षसम्म प्रसारण र वितरण लाइन सुधार नभए बिजुली आपूर्तिमा ठूलो समया हुने बताए ।

`सिस्टमले धान्न नसक्दा बिजुली आपूर्तिमा समस्या भयो´

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणको प्रणालीमा समस्यामा हुँदा केही दिनदेखि नियमित बिजुली दिन नसकेको बताए । तराईका जिल्लामा बिजुलीको माग ह्वात्तै बढ्दा प्राधिकरणको सिस्टमले धान्न नसकेsJ उनको भनाइ छ ।

केही दिनदेखि झ्याप-झ्पाप बिजुली जाने समस्या देखिएपछि समाजिक सञ्जालमा घिसिङको आलोचना भइरहेको छ । विगतदेखि नै प्राधिकरणले गुणस्तरीय सेवा दिन नसकेपछि पत्रकार सम्मेलन गर्दै प्रस्टीकरण दिने गरेका घिसिङले आइतबार प्राधिकरण मुख्यालयमा पत्रकार सम्मेलन गर्दै तराईमा गर्मी बढेपछि प्रणालीमा चाप परेकाले गुणस्तरीय बिजुली दिन समस्या भएको बताए ।

घिसिङले तराईमा बिजुलीको माग बढ्नु सकारात्मक भएकाले प्राधिकरणले गुणस्तरीय बिजुली दिने गरी पूर्वाधार विकास गरिरहेको बताए । गत वर्ष पनि झ्याप-झ्पाप बिजुली जाने समस्या देखिएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले पूर्वाधारमा लगानी बढाएको बताएका थिए ।

प्राधिकरणले भारततर्फ बिजुली निर्यात गरेर आन्तरिक बजारमा कटौती नगरेको उनले प्रस्टीकरण दिए । `सामाजिक सञ्जालमा केही व्यक्तिले भारतमा बिजुली बिक्री गरेर नेपालमा लोडसेडिङ गर्‍यो भन्ने आरोप लगाउनुभएको छ, ´घिसिङले भने, `पिक टाइमबाहेकको बिजुली निर्यात गर्नैपर्छ । नेपालमा उत्पादन भएर खपत हुन नसक्ने बिजुली बिक्री गर्ने हो, नेपालमा कटौती गरेर बिजुली निर्यात गर्ने होइन ।´


क्लिकमान्डु