यो वर्ष पहिलो पटक उठ्यो गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व



काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनामा गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

गत साउनदेखि अघिल्लो वर्ष भन्दा कम राजस्व संकलन गरिरहेको आन्तरिक राजस्व विभागले जेठमा गत वर्षभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

गत वर्ष जेठ महिनामा ३२ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले चालू आर्थिक वर्षको जेठ महिनामा ३६ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले जेठ महिनासम्म भने गत वर्ष बराबर राजस्व संकलन गर्न सकेको छैन । गत वर्ष जेठ मसान्तसम्म ४ खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यो वर्ष जेठ मसान्तसम्म ४ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेको हो ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको विभागले चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

जेठ मसान्तसम्म विभागले लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ । विभागले यो वर्ष साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

विभागले साउनमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४० अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । भदौमा ३१ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ११ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

त्यसैगरी, असोजमा २९ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब ९३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा विभागले २९ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

मंसिरमा ३३ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।

पुसमा १ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ७१ अर्ब ३१ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो।

विभागले माघमा ३९ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३१ अर्ब ५ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष माघमा ३१ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुनमा ३३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २८ अर्ब ९८ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । विभागले गत वर्ष फागुनमा २८ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो ।

चैतमा ८३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिए पनि विभागले ५५ अर्ब २ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।

बैशाखमा ५१ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३४ अर्ब ४६ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो ।


क्लिकमान्डु