कर्जामा पनि घट्यो ब्याजदर



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि कर्जाको ब्याज घटाएका छन् । आधार दर घटेसँगै वाणिज्य बैंकले कर्जाको ब्याजदर ०.२ देखि ०.२४ प्रतिशत विन्दुले घटाएका हुन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । असारमा ०.२ विन्दुले घटेर १२.४५ प्रतिशतमा  झरेको छ ।

वैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घटेको र कर्जाको ब्याजदर सोही अनुपातमा घटेको हो ।

चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

सरकारले आगामी वर्ष मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएकाले ब्याजदर घटाउने स्पेस भए-नभएको विषयमा अध्ययन गर्नुपर्ने नेपाल बैंकर्स संघले जनाएको छ ।

सिद्धान्तत: महँगी घटाउन ब्याजदर बढाउनुपर्छ । तर, अहिले ७.९ प्रतिशत रहेको महँगी ६.५ प्रतिशतमा ल्याउनुपर्ने लक्ष्य राखेका अर्थमन्त्री डा. प्रकाशशरण महत पनि ब्याजदर घट्नुपर्ने पक्षमा छन् ।


क्लिकमान्डु