भन्सार विभागले ११ महिनामा उठायो लक्ष्यको ५८ प्रतिशत राजस्व



काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको छ ।

विभागले जेठ मसान्तसम्म ६ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य लिएकोमा ३ खर्ब ५६ अर्ब ७५ करोड मात्रै संकलन गरेको हो ।

विभागले गत आर्थिक वर्षको ११ महिनामा ४ खर्ब ६६ अर्ब रुपैयाँ संकलन गरेको थियो । जेठ मसान्तसम्म संकलन भएको राजस्व हेर्दा चालुआर्थिक वर्षको अन्त्यसम्ममा विभागले ४ खर्ब पनि राजस्व संकलन गर्ने सम्भावना छैन । गत वर्ष १२ महिनामा विभागले ५ खर्ब ६ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का चालु आर्थिक वर्षमा ३ खर्ब ९५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन हुने सम्भावना नरहेको बताउँछन् ।

विभागका सूचना अधिकारी खड्काले भने अनुसार राजस्व संकलन भयो भने पनि चालुआर्थिक वर्षमा गत वर्ष भन्दा १ खर्ब ११ अर्ब रुपैयाँ कम राजस्व संकलन हुनेछ ।

विभागले जेठ महिनामा मात्रै लक्ष्यको ६२ प्रतिशत राजस्व संकलन गरेको छ । जेठमा मात्रै ६० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

आगामी दिनमा सवारी साधानको जाँचपास बढ्ने सम्भावना भएकाले राजस्व संकलन बढ्न सक्ने भन्सार विभागका सूचना अधिकारी खड्का बताउँछन् ।


क्लिकमान्डु