आयोजना प्रभावितले नकिनेपछि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थपियो



काठमाडौं । आयोजना प्रभावित स्थानियले सेयर नकिनेपछि कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले सेयरमा आवेदन दिने समय थपेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित स्थानीयले सेयर नकिनेपछि आवेदन दिने समय थपिएको छ । रोजगारीका लागि विदेशमा रहेका नेपालीले भने आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

आयोजना प्रभावित स्थानीयले असार ५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा बाँकी रहेको सेयर सर्वसाधारणका लागि थप गरेर निष्कासन गरिने छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि सेयर निष्कासन गरेको थियो ।

कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको हो । आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका-९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका-१ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, १२ लाख १८ हजार ६ सय रुपैयाँको १२ हजार १८६ क्रित्ता सेयर निष्कासन गरेको छ । वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीले मेरो सेयर र सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले लक्ष्मी, सिद्धार्थ, सिटिजन्स र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु