काठमाडौंबाट बाहिरिने सार्वजनिक सवारी आजदेखि नयाँ बसपार्कबाट छुट्नु पर्ने



काठमाडौं । उपत्यकाबाट बाहिरिने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन आजबाट नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाले केही दिन अघि सूचना जारी गर्दै उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधन असार १ बाट नयाँ बसपार्कभित्रबाट सञ्चालनग गर्न निर्देशन दिएको थियो ।

त्यस्तै माइक्रो बस र जीप पनि आजबाट बसपार्कबाटै सञ्चालन हुने छ ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन पनि निर्देश दिएको थियो । ‘काठमाडौँबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ’, महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको थियो ।

अनाधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ ।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ ।

सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्ने महानगरको सूचनामा उल्लेख छ ।

तर, व्यवसायीहरुले भने यसको बिरोध गरिरहेका छन् ।


क्लिकमान्डु