१६ हजारमा आयात भएको क्यान्सरको औषधी ६१ हजार ६६६ मा बेच्न सरकारको अनुमति !



औषधी व्यवस्था विभागले रक्त सहित कयौं क्यान्सरको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई २७२ प्रतिशतसम्म नाफा राख्दै बिक्री गर्न अनुमति दिएको खुलेको छ ।

प्रतिकात्मक तस्बिर

काठमाडौं । क्यान्सर रोगको उपचारमा प्रयोग हुने रिटक्सइरेल खोपलाई सरकारले नै २७२ प्रतिशत नाफा राखेर बिक्री गर्न अनुमति दिइएको छ ।

नेपालमा औषधीका विषयमा नियमन गर्ने अधिकार पाएको औषधी व्यवस्था विभागले उपभोक्तालाई मार पार्ने गरी रिटक्सइरेल खोप बिक्री गर्न अनुमति दिएको हो ।

कालोबजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । तर, सरकारले तोकेको अवस्थामा व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन मिल्ने कानूनी व्यवस्था छ ।

कालोबजार तथा केही अन्य समाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ खण्ड क मा सामानको मुल्य, भाडा, भन्सार महसुल, सञ्चालन खर्च, डिलर, रिटेलर वा एजेण्डको मुनासिब कसिशन र आयातकर्ताको मुनासिब नाफा हेरर मात्रै उपभोक्ताले सुपथ मुल्यमा पाउने गरी सरकारले कुनै पनि बस्तुको बिक्री मुल्य तोक्न सक्ने व्यवस्था छ ।

विभागले बीरगञ्ज प्रधानकार्यालय रहेको फर्माकेम प्रालिलाई क्यान्सर रोगको उपचारमा प्रयोग हुने रिटक्सइरेल औषधी आयात गर्न र उच्च नाफा राखेर बिक्री गर्न अनुमति दिएको हो ।

नेपालमा भ्रष्टाचार कतिसम्म मौलाएको छ भन्ने दृष्टान्त हो यो । क्यान्सर जस्तो गंभीर रोगको औषधिमा व्यापारी र सरकारी कर्मचारीको मिलेमतोमा बिरामीमाथि गरिएको यो अत्याचारको जति निन्दा गरे पनि कम नै हुन्छ ।

उच्च नाफा लिँदै अधिक्तम बिक्री मुल्य तोक्ने औषधी व्यवस्था विभागको निर्णय कानूनको मर्म विपरित भएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक अधिकारी बताउँछन् ।

फर्माकेमले ५०० एमजीको रिट्कसिरेल खोप आयात गर्दा भरेको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भरेको प्रज्ञापन पत्रमा उक्त खोपको खरिद मुल्य १६ हजार ५६० रुपैयाँ (१० हजार ३५० भारतीय रुपैयाँ) राखिएको छ ।

विभागले त्यस खोपको अधिक्तम खुद्रा मुल्य ६१ हजार ६६६ रुपैयाँ तोकेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकाल औषधीको मुल्य कसरी तोक्ने भन्ने नीति नहुँदा कयौं प्रोडक्ट अधिक्तम बिक्री मुल्य धेरै नाफा हुने गरी तोकिएको हुन सक्ने बताउँछन् ।

‘तपाईंले एउटा प्रोडक्टमा थाहा पाउनु भयो, धेरै बस्तुमा यस्तो भएको हुन सक्छ,’ ढकालले भने,‘ औषधी आयातकर्ता व्यवसायीले विभागमा प्रज्ञापन पत्र देखाउँदैन । जसले व्यवसायीले कति नाफा लिए भन्ने विभागलाई थाहा हुँदैन ।’

मार्केटिङ र सप्लाईचेनको कस्ट जोडेर पनि बिक्री मुल्य धेरै तोकिएको हुन सक्ने ढकाल बताउँछन् ।

‘ठ्याक्कै तपाईंले भनेको विषयमा के भएको भन्ने अध्ययन गरेपछि मात्रै थाहा हुन्छ,’ ढकालले भने ।

भन्सार विभागका एक अधिकारी औषधी व्यवस्था विभागले व्यवसायीलाई बढी नाफा हुने गरी मिलेमतोमा बढी मुल्य तोक्ने गरेको आरोप लगाउँछन् ।

‘यदि उहाँहरुले कुनै पनि सामानको प्रज्ञापनपत्र माग्नु भयो भने हामीले नदिने भन्ने हुँदैन,’ विभागका अधिकारीले भने,‘औषधी जस्तो अत्यावश्यक सामानमा यती धेरै नाफा लिन दिनु मिलेमतो हो ।’

५० लाख रुपैयाँ चुक्ता पुँजी भएको फर्माकेम प्रालि औषधीका विभिन्न सामानहरुको विषयमा थोक कारोबार गर्न वि.सं. २०४४ सालमा दर्ता भएको कम्पनी हो । कम्पनी क्षेत्रनाथ शर्माको नाममा दर्ता भएको थियो ।

कम्पनीको सञ्चालक आत्माराम कावरा र हरिनारायण कावरा हुन् ।

हाल कम्पनीका प्रबन्ध निर्देशक शुनिल लाकोटिया छन् । बीरगञ्जमा प्रधानकार्यालय रहेको कम्पनीका लेखापाल रत्काकर पाण्डे विभागले ६१ हजार रुपैयाँ औषधी बिक्री गर्न अनुमति दिए पनि आफूहरुले भने उक्त मुल्यमा औषधी बिक्री नगरेको दाबी गर्छन् ।

‘हामीले त्यत्ति महँगो मुल्यमा बिक्री गरेका छैनौं,’ पाण्डेले भने,‘तपाईंले भनेको विषयमा के भएको हो हेर्नु पर्छ ।’

डेढ वर्ष पुरानो घटना

फर्माकेमले २०७८ माघमा भारतीय कम्पनी रिलायन्स लाइफ साइन्सबाट १५० भाइल औषधी खरिद गरेको थियो ।

रिटक्सइरेललाई मानव रक्त रोगको उपचार तथा रोकथामको लागि तयार गरिएको एन्टिसेरा तथा रोगक्षमता सम्बन्धी उत्पादन भन्दै फर्माकेमले एसएसकोड ३००२.१५.०० घोषणा गरी भन्सार महसुल नलाग्ने दाबी गर्दै जाँचपासको लागि पेश गरेको थियो ।

भन्सार कार्यालयले भने उक्त औषधी उपचारात्मक वा प्रतिकारात्मकमा प्रयोग हुने भन्दै एचएस कोड ३००४.४२.०० मा गणना हुनु पर्ने राय सहितको प्रतिवेदन २०७८ फागुन २ गते विभागमा पठाएको थियो । तर, अहिलेसम्म यो औषधी कुन एचएस कोडमा गणना हुने भन्ने विषयमा विभागले निर्णय गरेको छैन ।

फर्माकेमले भन्सार कार्यालयमा धरौटी जम्मा गर्दै औषधी छुटाएर बजारमा बिक्री गरिसकेको छ ।


शरद ओझा