ऊर्जामन्त्रीको आश्वासन- विद्युत व्यापारमा निजी क्षेत्रसँग मिलेर अघि बढ्छौं



काठमाडौं । ऊर्जामन्त्री शक्ति बस्नेतले विद्युत व्यापारमा निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको २१औं वार्षिकोत्सव कार्यक्रममा उनले भने, ‘विद्युत व्यापारमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण छ, सरकार अब विद्युत व्यापारमा पनि निजी क्षेत्रसँग मिलेर अघि बढ्छ ।’

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा गरेको सम्झौता कार्यान्वयनमा आउने बताएका छन् । आगामी १० वर्षमा १० हजार मात्रै नभएर १२-१५ हजार मेगावाट विद्युत व्यापार गर्नेगरी काम गर्ने उनले बताए ।

विद्युतको आन्तरिक खपत बढाउन योजना बनाउनुपर्ने उनले बताए । सरकारले भारत, बंगलादेश मात्रै नभएर अन्य देशमा पनि विद्युत बेच्ने योजना सुनाए । त्यसका लागि पूर्वाधार तयार गर्नुपर्ने र प्रसारणलाइन निर्माणका लागि काम गर्नुपर्ने बताए ।

मन्त्री बस्नेतले ऊर्जा लगानी बढाउन कानुन संशोधनलगायत काम सरकारको ध्यानमा परेको बताए । उनले देशमा जलविद्युतका लागि लगानीमैत्री वातावरण बनाउन सरकारले काम गर्ने आश्वासन दिए । ऊर्जा विकासका लागि लिएको लक्ष्यमा पुग्न हातेमालो गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।

पूर्वाधारमा अहिले चुनौती जस्तो देखिए पनि काम गर्दै जाँदा सबै समस्या समाधान हुने उनको तर्क ५ । विद्युत वितरणलाई स्मार्ट बनाउने गरी काम भइरहेको तथा पीपीएमा देखिएको समस्या समाधान गर्ने आश्वासन उनले दिए ।

सरकारले ‘विकासका लागि ऊर्जा’ कार्यक्रम सुरु गर्न लागेको जानकारी गराउँदै यसले ऊर्जाको आन्तरिक खपत बढाउन र ऊर्जा क्षेत्रमा उत्पादन, खपत, व्यापारलगायतको क्षेत्रमा ब्रेक थ्रु गर्ने ठाउँमा पुगिएको दाबी गरे । मन्त्री बस्नेतले केही दिनभित्रमा विद्युत विधेयक संसदमा लैजाने पनि जानकारी गराएका छन् ।


क्लिकमान्डु