म्याग्दीमा ९.१४ मेगावाटको सुपर घलेम्दी हाइड्रोपावर बन्दै



काठमाडौं । गण्डकी प्रदेशको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना बन्ने भएको छ ।

विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै उक्त जलविद्युत आयोजना निर्माण गर्ने विषयमा अनुमतिपत्रको लागि दरखास्त पेस भएको जानकारी दिएको छ ।

विभागकाअनुसार अन्नपूर्ण गाउँपालिका भएर बग्ने घलेम्दी खोलाको पानीलाई उपयोग गर्दै खोलाको दाँया किनारमा मुख्य संरचना रहने गरि जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।

यो जलविद्युत आयोजना नदी प्रवाहमा आधारित हुनेछ । जडित क्षमता ९.१४ मेगावाट रहने आयोजनाको वार्षिक सरदर ५३.८५ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ ।

आयोजनाका लागि आवश्यक पानी फर्काउन घलेम्दी खोलामा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइने सूचनामा उल्लेख गरिएको छ ।

विद्युत गृहमा ४.५७ मेगावाट क्षमताका २ वटा टर्बाइन रहेनछन् । उक्त टर्बाइनमा जोडिएका २ वटा ५.५ एमभीए क्षमताका जेनेरेटरमार्फत ९.१४ मेगावाट विद्युत उत्पादन गरिनेछ ।

२०८२ को वैशाखसम्ममा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई करिब ५ किमि लामो ३३ केभीको प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ विभागले जनाएको छ ।


क्लिकमान्डु