इप्पान अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, सबैको साथ र सहयोग लिएर काम गर्ने प्रतिबद्धता
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का नवनिर्वाचित अध्यक्ष गणेश कार्कीले सबैको साथ र सहयोग दिएर काम गर्ने बताएका छन् ।
इप्पानको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कार्कीले आफ्नो कार्यकालमा सबैलाई समेटेर सबै ऊर्जा उद्यमीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘भोलिका दिनमा सबै उद्यमीको साथ र सहयोग लिएर अघि बढ्नेछु,’ उनले भने, ‘आफूले काम गर्ने सिलसिलामा सबैको सहयोग आवश्यक छ, आशा छ, सबैको साथ र सहयोग पाउनेछु ।’ कार्कीले आफ्नो कार्यकालमा सबैको हित हुने गरी काम गर्ने बताए ।
आगामी कार्यकालका लागि बिहीबार निर्वाचन हुने भए पनि अहिलेसम्म अध्यक्षसहित १८ जना निर्विरोध निर्वाचित भइसकेका छन् । अब ७ जना सदस्यका लागि निर्वाचन हुनेछ । सदस्यमा पनि सहमति जुटाउने प्रयास भइरहेको नवनिर्वाचित उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिए ।
त्यस्तै इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका सूर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि निर्वाचन समितिले डाँगीको एकल उम्मेदवारी कायम गरेसँगै उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।
इप्पानको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन इप्पानको पदाधिकारीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्छ । तर, अधिकारी इप्पानको पदाधिकारीमा निर्वाचित भएका थिएनन् ।
उनको योग्ता नपुगेपछि निर्वाचन समितिले डाँगीको उम्मेदवारी मात्रै कायम गरेको छ । यो सँगै डाँगी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्ष बनेका छन् भने संशोधित विधानअनुसार त्यसपछि उनी स्वत: अध्यक्ष हुनेछन् ।