आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अव्यावहारिक र आत्मघाती: व्यापारी



काठमाडौं । नेपालमा आलु र प्याजको आयात निर्यात तथा थोक विक्रेताले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम कदम चालेको आरोप लगाएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयातनिर्यात थोक विक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाइका दरले महँगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोत्साहित र उपभोक्ता चिन्तित रहेको बताए ।

बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्यांक हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए ।

अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको बानियाँको आरोप छ । ‘यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको छ,’ अध्यक्ष बानियाँले भने, ‘यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्त्यमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।’

सरकारको नीतिपछि व्यवसाय बचाउन आफूहरु हारगुहार गरिरहेको र भन्सार नाकामा आएका वस्तु भन्सार पास गर्न पनि नसकेको उनले बताए । आलु र प्याज जस्तो छिटो नष्ट हुने वस्तुमा अध्ययनबिना भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्छ भनेर अध्ययन नगरी हचुवाको निर्णय लिँदा वर्षौंदेखि व्यवसाय गरिरहेका पलायन हुने अवस्थामा पुगेको उनले बताए ।

कार्यक्रममा संघका महासचिव प्रकाश गजुरेलले दैनिक उपभोग्य वस्तु आलु प्याजमा भ्याट लगाएर सरकारले अनावश्यक बखेडा झिकेको र बजार बिगारेको आरोप लगाए । नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको भनाइ छ ।

आलु प्याज नाशवान प्रकृतिको वस्तु आयात गरी बजारसम्म पुर्‍याउँदा बिग्रने, सड्ने तथा गल्ने भएकाले परिमाणमा फरक पर्ने भन्दै उनले यस्तो अवस्थामा पूर्ण परिमाणमा मूल्य अभिवृद्धि कर तिरेको भए पनि सम्पूर्ण वस्तु बजारमा बिक्री नहुने भएकालै तिरेको भ्याट फिर्ता वा समायोजन गर्नसमेत व्यवसायीलाई कठिन हुने उनको तर्क छ ।

‘हाल आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएका छौं,’ उनले भने, ‘यस्तो अवस्थामा थप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु हो,’ उनले भने ।

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारलाई तत्काल भ्याटको निर्णयबाट पछि हट्न आग्रह गरे । दिनप्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै उनले थप संकट रोक्न सरकारसँग माग गरे ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याजलगायतका कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु प्याजको व्यवसाय गर्नेहरु भ्याटको दायरामा आएका छन् । चालू आवको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

यस्तै ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ । आलु र प्याजमा भ्याट लाग्ने भएपछि व्यवसायीहरु बजेट वक्तव्ययता कारोबार नै नगरी बसेका छन् । यस्तो अवस्थामा फाइदा उठाउने समूह पनि सक्रिया रहेको पाइएको छ ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ को समूह क (आधारभूत कृषि उत्पादन) अन्तर्गत भ्याट छुट हुने वस्तु तथा सेवाको सूचीमा आलु तथा प्याज रहँदै आएकोमा आर्थिक ऐन २०८० बाट हटाइएको छ ।

नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघ आलु र प्याजको व्यवसाय गर्ने व्यवसायीहरुको संघ हो । संघका सदस्यले भारत र तेस्रो मुलुकबाट आलु प्याज आयात गरी नेपालमा थोक बिक्री गर्दै आएका छन् ।


क्लिकमान्डु