बैंकहरु हाइड्रोमा लगानी गर्न सक्ने अवस्थामा छैनन्: कार्की



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले सरकारले १५ सय मेगावाट पीपीए खोल्ने भने पनि बैंकहरु लगानी गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

जेठ ३२ गते हुने निर्वाचनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा कार्यक्रममा उनले अहिले जलविद्युत आयोजनालाई लगानीको समस्या भएको बताएका हुन् ।

यो वर्ष ३ हजार मेगावाट उत्पादन हुने सम्भावना भए पनि १६ सय मेगावाट मात्रै खपत भएको उनले बताए । ‘भारतले विद्युत किनेन भने के गर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘सरकारले पनि थप विद्युत उपभोग गर्ने नीति लिएको छैन ।’

नेपाल धितोपत्र बोर्डले तीन वर्ष लकिङ अवधि तोकेको भन्दै कार्कीले लकिङ अवधि राख्न नहुने बताए । ‘अहिले ऊर्जा क्षेत्रमा धेरै समस्या छ, यस्तो बेला छुट्टाछुट्टै हुनुभन्दा पनि सबै एकैठाउँ बसेर समस्या समाधानमा जुट्नुपर्छ ।’

सरकारले समय-समयमा ल्याउने नीतिले ऊर्जा उत्पादन गर्न नसक्ने अवस्था रहेको उनले बताए । आफूले जितेपछि धितोपत्र बोर्ड, बिमालगायतका क्षेत्रबाट भोग्नुपरेको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता कार्कीले जनाए ।

हिजो अर्को समूहले उम्मेदवारी घोषणा गरेपछि बाध्य भएर आफूले पनि घोषणा गर्नुपरेको उपमहासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले बताए । उम्मेदवारी घोषणा गरेका केही उम्मेदवार दुवै समूहमा छन् । यसले पनि अझै सर्वसम्मत हुने सम्भावना रहेको उनको विश्वास छ ।

इप्पानमा २५ सदस्यीय कार्यसमिति छ । कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ५ जना, महासचिव, उपमहासचिव, सचिव ५ जना, कोषाध्यक्ष १ जना र बाँकी १० जना सदस्य रहन्छन् ।


क्लिकमान्डु