विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा, एक महिनामा २७ करोड डलरले बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

गत चैत मसान्तमा १० अर्ब ९४ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति वैशाख मसान्तमा ११ अर्ब २० करोड डलर पुगेको हो।

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तमा ९ अर्ब ४२ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति भदौमा घटेर ९ अर्ब ३४ करोड डलर पुगेको थियो ।

असोजमा ९ अर्ब ४७ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति त्यसयता निरन्तर बढीरहेको छ ।

चालू अर्थिक वर्षको १० महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि हुनुको साथैं आयात १८ प्रतिशतले घट्दा विदेशी मुद्राको सञ्चिति १० महिनाको अवधीमा १७.६ प्रतिशतले बढेको हो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.७ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ ।

नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ भने रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र आयातमा भएको गिरावटले चालू खाताको घाटा गिरावट भएको छ ।

गत चैतमा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर स्थिति वैशाखमा २ खर्ब १४ अर्ब रुपैयाँले बचतमा छ ।

यस्तै, गत वर्ष वैशाख मसान्तमा ५ खर्ब ४५ अर्ब रुपैयाँले घाटामा रहेको चालू खाता यो वर्ष वैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँमा झरेको हो ।


क्लिकमान्डु