प्रयोगबिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न रास्वपा सांसदले गरे सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोगबिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरुमध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको बताए । उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनहरु समेत नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘नेपाल सरकारले साझा यातायात सँगको सहयोगमा करिब ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरिएको थियो । जसमध्ये ३ वटा सञ्चालनमा आएको छ भने ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा थन्किरहेको छ’ उनले भने,’ छोरो पाउने कहिले, भोटो सिउने अहिले यो उखानले हाम्रा पूर्वजहरुको कुनै पनि विषयको पूर्वतयारीको हतारोलाई दर्शाउँछ । बिडम्बना हामी हाम्रो पूर्वजहरुभन्दा धेरै पछाडि परिरहेका छौँ । छोरो जन्मिइसक्यो लगाउने भोटो छैन । बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन । बिजुली बस गुड्न तयार छ गुडाउने रुट पर्मिट छैन ।’

सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य भएको भन्दै उनले सफा, सुविधासम्पन्न विद्युतीय बसलाई थन्क्याएर राखिएको बताए ।
‘कतै हामीले माल पाएर चाल नपाएको हो कि ? जनताको रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलागोस् भनि सरकारको ध्यानाकर्षण गराउँदछु’ उनले भने ।


क्लिकमान्डु