सहकारी विभागका रजिस्ट्रारको प्रश्न- महासंघ, नेफ्स्कुन बार्गेनिङ गर्न खोलेको हो ?
काठमाडौ । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) बार्गेनिङ गर्न खोलेको हो कि अभियानलाई शुद्धीकरण गर्न हो भन्दै ? प्रश्न गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या, चुनौती र समाधानको उपाय’ विषयक अन्तर्क्रियामा उनले यो प्रश्न गरेका हुन् ।
अहिले सहकारीमा समस्या भएको भन्दै उनले यसबेला नेफ्स्कुन र महासंघले बार्गेनिङ गर्ने होइन, सहजीकरण गर्नुपर्ने बताए । अभियानलाई संस्थागत बनाउन र नियमनमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । यस विषयमा कुरा गर्दा अभियानले विरोध गरेको भन्दै उनले असन्तुष्टी जनाए ।
अहिले सहकारीको प्रबन्धन कोष र स्थिरीकरण कोषको कुरा रहेको भए पनि यो कहाँ, कसको स्वामित्वमा राख्ने भनेर विवाद भएको उनले बताए । ‘विभागमा वित्तीय अवस्था बुझ्ने कर्मचारी छैन, विभागका निरीक्षकलाई सहकारीको वित्तीय अवस्था कस्तो छ भनेर सोध्यो थाहा हुँदैन,’ घिमिरेले भने, ‘यो तहको कारोबार होला भनेर सहकारी ऐन पनि बनाइएको छैन, जबकि ३० हजार सहकारीले ७ खर्बभन्दा बढीको वित्तीय कारोबार गर्ने गरेका छन् ।’
विभाग र राज्यको कल्पनाभन्दा सहकारी धेरै माथि रहेको उनले बताए । घिमिरेका अनुसार अहिले २३ हजारभन्दा बढी सहकारी स्थानीय तहमा छन् । दुई हजार प्रदेशलाई दिइएको र संघमा १२५ सहकारी रहेको उनले बताए । ‘काम भने साविक विभागले जे गरेको छ, त्यही अनुसार भइरहेको छ,’ उनले भने, ‘अहिले सहकारी सबैको हो, कसैको होइन भन्ने अवस्थामा पुगेको छ, लथालिंग र भताभुंग भएको छ ।’
अहिले ऐन कार्यान्वयन नहुँदा पनि समस्या बढेको उनले बताए । ‘सिद्धान्तत: हेर्ने हो भने सहकारीमा कर्जा सूचना केन्द्र चाहिँदैन, सहकारीका सदस्यले २ संस्थासँग कारोबार गर्न पाउँदैन अनि किन चाहियो यो निकाय ?’ उनले प्रश्न गरे ।
सहकारीले कानुनी रुपमा घरजग्गामा लगानी गर्न नपाउने तर संस्थाको नाममा घरजग्गा पास गर्न नमिल्ने भएकाले नक्कली ऋणी खडा गर्ने गरिएको उनले बताए । ‘विभाग अहिले सहकारीबाट बचत फिर्ता गराउनतिर लागेको छ,’ घिमिरेले भने, ‘घरजग्गामा कारोबार गर्नेको पछि कानुनअनुसार अघि बढ्छौं । बचतकर्ताले कुनै न कुनै दिन पैसा फिर्ता पाउँछन् ।’