चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेट: ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए ।

‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनेको पूँजी उन्मुख होइन, मानव उन्मुख हो । घराना उन्मुख होइन, समाज उन्मुख हो । ठूलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आम जनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पूँजीको केन्द्रिकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ’ ओलीले भने, ‘नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहिनता छ । यसले देख्दैन परसम्म । चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यसकारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ ।’

अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनावद्ध ढंगले अघि बढाउने कुरामा ध्यान नदिएर सुतेको उनले आरोप लगाए ।

‘अझिंगर जस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आईलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ ’ ओलीले भने ।


क्लिकमान्डु