करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता छैन: अर्थ मन्त्रालय



काठमाडौं । अर्थ मन्त्रालयले करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएको छ ।

आज अनलाइनखबरले करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता सम्बन्धी समाचार प्रकाशन गरेको भन्दै मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएको हो ।

‘बजेट तर्जुमा दिग्दर्शनले तोकेका पदाधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिए पश्चात कम्प्यूटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धि परिक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य गर्ने गराउने गरिएको हो’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो स्थापित अभ्यास हो ।’

समाचारमा नाम उल्लेख गरिएका रामकृष्ण श्रेष्ठ निजामती सेवामा लामो समय भन्सार विभागमा रहि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काम गरिरहेका सेवा निबृत्त कर्मचारी भएको मन्त्रालयले जनाएको छ ।

उनको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइँदै आइएको विज्ञप्तिमा जनाइएको छ ।

चालु आर्थिक वर्षमा पनि उनलाई सूचना प्रविधि सहायक कर्मचारीको रुपमा करारमा नियुक्त गरिएको र विगतका वर्षहरुमा जस्तै आर्थिक विधयेक २०८०/८१ को मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता धनिराम शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु