स्वर्णिम वाग्लेको प्रश्न: हावादारी अंक राखेको बजेट जनताले किन पत्याउने ?



काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेटमा कतिपय अवस्थामा हावादारी रुपमा अंक राख्ने गरेको भन्दै त्यस्तो बजेट जनताले किन पत्याउने भन्दै प्रश्न गरेका छन् ।

इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)ले सोमबार आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदसमेत रहेका अर्थशास्त्री वाग्लेले बजेटमा भनिएका कुराहरु नमिल्ने भएकाले जनताले पत्याउने अवस्था नबेको बताए ।

उनले बजेटमा भनिए अनुसार आय, व्यय, वैदेशिक अनुदान केही पनि नआउने भएकाले सर्वसाधारणले विश्वास गर्न नसकेको बताए ।

‘सरकारले ल्याउने बजेटमा आयको अनुमान, ब्ययको अनुमान केही पनि मिल्दैन । वैदेशिक अनुदान भनेजति आउँदैन, ऋण पनि भनेअनुसार उठ्दैन,’ उनले भने ।जेठमा खुलेर बजेट बनाउने र पुसमा खुम्च्याउने गर्दा बजेटमाथिको विश्वास घटेको वाग्लेको भनाइ छ ।

‘हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनियता कम हुँदै गएको छ । यस्तो हावादारी अंकमा ल्याउने बजेट जनताले किन पत्याउने ?’ उनले प्रश्न गरे ।

अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजस्वले धान्न नसक्ने उनले बताए । वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ व्याज तिर्न आन्तरिक ऋण ऊठाउनु पर्ने अवस्था आएको उनले बताए ।

सरकारले अनावश्यक आयोगहरु खारेज गर्नुपर्ने र वृद्ध भत्ताको ठाउँमा वृद्ध अवस्थाका मानिसलाई स्वास्थ्य बिमामा जोड्न सक्नु पर्ने उनले बताए ।

बजेटले खर्च घटाउँछु भन्नु राम्रो भएको उनको भनाइ छ ।


क्लिकमान्डु