विद्युतको बजार सुरक्षित भयो, अब पीपीए खोल, व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई देऊ: इप्पान



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रका लागि उल्लेख्य रहेको बताएको छ । भ्रमणले ऊर्जा क्षेत्रलाई सरकारले महत्त्वका साथ हेरेको स्पष्ट भएको अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

भारतले सुरुमा ४० मेगावाटबाट खरिद गर्न लागेको विद्युत अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ । नेपाली विद्युतको बजार भारतभन्दा पनि बंगलादेश भएको उनले बताए । औद्योगिक क्षेत्रमा अझै लोडसेडिङ रहेको भन्दै अध्यक्ष आचार्यले प्राधिकरणले प्रसारणलाइन निर्माण गरेर विद्युत व्यापार गर्न निजी क्षेत्रलाई दिन आग्रह गरे ।

इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाल र भारतले संयुक्त लगानी गरेका आयोजनाको विद्युत खरिद गर्न भारत तयार रहेको बताए । त्यसका लागि सचिव स्तरीय सम्झौता भएको उनले जानकारी दिए ।

उपाध्यक्ष गणेश कार्कीले भारतले मात्रै बनाएको नभएर नेपाली उत्पादन पनि भारतले किन्ने अपेक्षा रहेको बताए । १० हजार मेगावाट विद्युत भारतले खरिद गर्दा निजी क्षेत्रका आयोजनाबाट निकाल्ने विद्युत बिक्रीमा राख्ने उनको भनाइ छ ।

उनले तत्कालै विद्युत प्राधिकरणले पीपीए खोल्नुपर्ने बताएका छन् । ‘नेपालको विद्युत बंगलादेशले पनि खरिद गर्ने भएपछि बजार सुनिश्चित भएको छ, प्राधिकरणले तत्काल पीपीए खोल्नुपर्छ,’ उनले भने ।

भ्रमणका क्रममा नेपाल-भारत विद्युत व्यापारका लागि बुटवल-गोरखपुर ४०० केभी प्रसारणलाइनको  शिलान्यास, फुकोट-कर्णाली ४८० मेगावाट जलविद्युत परियोजना विकाससम्बन्धी समझदारी, तल्लो अरुण ६६९ मेगावाटको जलविद्युत परियोजना विकास सम्झौता, नेपालभित्र विद्युत प्रसारणलाइन निर्माणका लागि एक्जिम बैंक इन्डियाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, पञ्चेश्वर  बहुद्देश्यीय परियोजना विस्तृत परियोजना प्रतिवेदन ३ महिनाभित्र अन्तिम रुप दिनेलगायतका विषय निकै महत्त्वपूर्ण रहेको इप्पानले जनाएको छ ।

भारत भ्रमणपछि भारत हुँदै बंगलादेशसम्म नेपालबाट विद्युत निर्यातको सुरुवात गर्न सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झोताका लागि प्रक्रिया अघि बढाउने उल्लेख छ । इप्पानले ठूला आयोजनाका लागि विद्युत खरिद-बिक्री तत्काल खुलाउन आग्रह गरेको छ ।


क्लिकमान्डु