वीरगन्जमा रोयल इनफिल्डको एसेम्बल युनिट सुरु



काठमाडौं । लक्जरी बाइकको रुपमा लिइने रोयल इनफिल्डले नेपालमा नै आफ्नो एसेम्बल सुरु गरेको छ ।

गत शुक्रबारबाट नेपालको त्रिवेणी ग्रुपसँगको सहकार्यमा इनफिल्डको वीरगञ्जमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
वीरगञ्जमा अवस्थित उक्त एसेम्बल प्लान्ट सिकेडी (कम्प्लिट नक्ड डाउन) युनिट रहेको छ ।

रोयल इनफिल्डले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार यो विश्व बजारमा इनफिल्डको पाचौं एसेम्बल प्लान्ट हो । विज्ञप्तिमा भनिएको छ, ‘वीरगञ्जमा अवस्थित यो प्लान्ट रोयल इनफिल्डको पाचौं सिकेडि एसेम्बल युनिट हो । यसअघि ब्राजिल, थाईल्याण्ड, कोलम्बिया र अर्जेन्टिनामा एसेम्बल प्लान्टहरु स्थापना भएका छन् ।’

नेपालमा सुरु भएको प्लान्टको सुरुवात इनफिल्डको क्लासिक ३५० र स्क्राम ४११ को उत्पादन सँगै भएको छ ।

रोयल इनफिल्डका सीईओ बि. गोबिन्दराजनले भने, ‘नेपालको यो नयाँ सिकेडी प्लान्ट हाम्रो ठूलो सम्भावना भएका बजारहरुमा लगानी गर्ने र विश्वव्यापी विस्तार हुने रणनीतिको निरन्तरता हो ।’

विरगञ्जमा खुलेको एसेम्बल प्लान्टबाट वार्षिक रुपमा २० हजार मोटरसाइल उत्पादन हुने कम्पनीले जनाएको छ । यसले नेपाली बजारमा रोयल इनफिल्डको मूल्यलाई पनि प्रभावित पार्ने देखिन्छ ।


क्लिकमान्डु