चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार १४ प्रतिशतले घट्यो



काठमाडौं । चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२० मा १४ प्रतिशतले घटेको हो ।

सन् २०२१ मा २ अर्ब ५५ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब १७ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीकाअनुसार सन् २०२२ मा सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध गर्दा व्यापार प्रभाव परेको जनाएको छ ।

सन् १९९४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारको दाल तथा खाद्यान्नको आयात तथा निर्यात गर्दै आएको छ । साना तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीको वार्षिक उत्पादन क्षमता ५० हजार मेट्रिक टन छ ।

कम्पनीले मसुर दाल, पहेलो मटर दाल, हरियो मुङ दालको व्यापार गर्दै आएको छ । कम्पनीको काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो छन् ।

मोहललाल अग्रवाल र श्रवनकुमार चचनको संयुक्त लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड २० लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ८५ प्रतिशतसम्म कच्चा पदार्थ आयात गरेको छ ।

कम्पनीले विशेषरी मास दाल, मसुर दाल, चना दाल, मुङ दाल र मटर दालबाट उच्च आम्दानी गरेको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ६.९४ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ५.९६ प्रतिशतले नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ८ महिनाको अवधिमा १ अर्ब ४१ करोड २० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।


क्लिकमान्डु