नारायणहिटी राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा



काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार बेलुकीको पारिवारिक जमघटमा नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिएका थिए ।

दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैंलाई गोली प्रहार गरेको भन्दै छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबार हत्याकाण्डलाई धेरै नेपालीले अहिले पनि रहस्यकै रुपमा लिने गरेका छन् ।

वीरेन्द्रको बंश नाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन गरे ।

जसका कारण लामो समयदेखि शाशन गर्दै आएको शाह वंशलाई विस्थापित गर्दै देश गणतान्त्रिक मुलुक घोषित भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

नारायणहिटी दरबार अहिले संग्रहालय बनाइएको छ ।


क्लिकमान्डु