झलनाथले आक्रोशित हुँदै भने- गुन्डागर्दी सह्य छैन, पूर्वराजा राप्रपा अध्यक्ष बनेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि विधेयक संसदले पास गरेपछि त्यसलाई प्रमाणकीकरणका लागि पठाउने अधिकारी भनेको संसदको सभामुख मात्रै हुने उनले बताए ।

मन्त्रिपरिषद्को बैठकबाट पास गरेर प्रमाणीकरण गराउनु संविधानको विपरित भएको उनले बताए । सभामुखले पठाएको विधेयकलाई १५ दिन भित्रमा प्रमाणकीरण गर्नुपर्ने र प्रमाणीकरण नभए विधेयक जीवित नहुने उनको भनाइ थियो । उनले एउटा अधिवेशनमा विधेयक प्रमाणीकरण भएन भने जस्ताको त्यस्तै राष्ट्रपति समक्ष विधेयक जान नसक्ने बताए । सरकारले कानून मिचेर विधेयक प्रमाणीकरणका लागि पठाएको उनको आरोप थियो ।

पूर्वप्रधानमन्त्री खनालले टिकापुर घटनामा दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन आम माफी दिनु पनि गलत भएको बताए ।

जिल्ला, उच्च र सर्वोच्च अदालतले अपराधी करार गरी जेल सजाय सुनाएकाले राजनीतिक विषय हो भन्ने बनाएर उन्मुक्ति दिनु गलत भएको उनको भनाइ थियो ।

‘आम माफी गर्ने कसरी हो ? जेलाई पनि आम माफी गर्न सकिन्छ ? यसबारेमा छलफल गरेर अघि बढ्न आवश्यक छ । जिल्ला अदालतले अपराध भन्छ, उच्च अदालतले पनि संघीन अपराध भन्छ, सर्वोच्चले भन्छ अपराध हो, २० वर्ष कैद गर्नुपर्छ । सरकार भन्छ यो राजनीतिक कुरा हो, उहाँ निर्दोष हुनुहुन्छ, माफी देउ । मिल्यो की मिलेन ? यो मेरो दिमाग भित्र पसेको थिएन, कुनै विद्वानले पसाइदिने हो भने म त्यो विज्ञानको खोजिमा छु । म बुझ्नै नसक्ने भएँ की ? के अर्थले यो काम भएको छ’ खनालले भने ।

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गर्दै देशमा गुण्डागर्दी सह्य नहुने चेतावनी दिए । देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिनेको उनको भनाइ थियो । राजाका मान्छेहरुले आफूबिरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोशित हुँदै राप्रपाको अध्यक्ष बनेर प्रतिस्पर्धामा आउन पूर्वराजालाई उनले चुनौती दिए ।

झलनाथले यसो भने

अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै शुरु भएको छ । उनीहरुका विभिन्न कार्यक्रमलाई विथोल्ने क्रियाकलाप हुन थालेका छन् । आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ । कतै यहाँ मण्डले गुण्डाहरु त प्रवेश गर्ने होइनन् भनेर ।

हिजो पनि म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरु भेला हुँदैछन् भनिएको थियो । म जाँदा कार्यक्रमको रुप अलि भिन्दै रहेछ । भिन्दै ढंगले सञ्चालन गर्ने कोशिस गरियो, जुन कुरासँग म सहमत छैन । तर, जेसुकै भए पनि कार्यक्रममा केही मान्छेहरुले बोल्न मागे, बोल्न दिइयो । बोल्ने क्रममा तथानाम गाली गरे ।

मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरु भए । सबै पार्टीको बिरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराबिरुद्ध । मलाई विभिन्न आरोप लगाए । यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो । विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरु लगाइयो ।

हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका बिरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोशिस भएको छ । ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रका बिरुद्ध लड्ने योद्धाका बिरुद्ध तथानाम गर्छन् ।

मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोशिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ । हामी तपाईंसँग प्रतिष्पर्धा गर्न तयार छौं ।

गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन ।

अहिले नै हिसावकिताव हुन्छ । नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही होइन । तपाईंलाई थाहा हुनुपर्छ । एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन ।

अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ । जस्तो राजा शाक्य । मेरै टोलमा हुनुहुन्छ । तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन । मन्दिर मन्दिर नगए पनि हुन्छ । अभिनन्दन नखाए पनि हुन्छ । केही काम छैन । राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु । तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन ।


क्लिकमान्डु