नेपाल र विश्व बैंकबीच साढे १८ अर्ब रुपैयाँबराबरको सहायता सम्झौता



काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच नेपालको शिक्षा क्षेत्रअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि सहुलियत पूर्ण ऋणमा सम्झौता भएको छ ।

सरकार र विश्व बैंकबीच अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग १२ करोड अमेरिकी डलर (१५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ) सहुलियतपूर्ण ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलर (२ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ)को अनुदान सम्झौता भएको हो । यो रकम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनमा खर्च हुनेछ ।

सम्झौता पत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फासिद हदाद जेभ्रोसले हस्ताक्षर गरेका छन् ।

कार्यक्रम प्रारम्भिक कक्षामा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न केन्द्रित हुनेछ । कोभिड-१९ र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइको क्षति सम्बोधन गर्न, कक्षा कोठामा पठनपाठन र सिकाइलाई सुदृढ पार्न हरियालीपूर्ण (ग्रिन) र शान्त कक्षाहरु निर्माण, दक्ष शिक्षक, विद्यार्थीमैत्री बस्ने ठाउँ तथा शौचालयजस्ता विभिन्न विषयलाई सम्बोधन गर्ने यो कार्यक्रमको लक्ष्य छ ।

कार्यक्रमले विद्यालय क्षेत्रमा बालिका तथा छोरीहरु, अपांगता भएका बालबालिका र आर्थिक तथा सामाजिक रुपमा कमजोर रहेका विद्यार्थीलाई समतामूलक शिक्षाका लागि छात्रवृत्ति पनि प्रदान गर्नेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै अर्थसचिव पोखरलले आफू विद्यालय क्षेत्रको रुपान्तरणको एजेन्डाले शिक्षाको गुणस्तरमा समतामलूक पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी रहेको बताएका छन् । उनले भने, ‘विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रममा परिकल्पना गरिएको सुधारका एजेन्डाले मानव पुँजी विकासका लागि महत्वपूर्ण शिक्षाको गुणस्तरमा समतामूलक पहुँच बढाउन र सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु ।’

त्यस्तै, नेपाल, मालदिभ्स र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक जेभ्रोसले विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम सञ्चालन हुनुले गुणस्तरीय शिक्षामा समतामूलक पहुँच बनाउन लगानी गरेर नेपाल सरकारले हरित, लचिलो र समावेशी विकासको एजेन्डालाई समर्थन गरेको बताए । उनले भने, ‘यी कुराहरु मानव पुँजीको विकास र समावेशी तथा लचिलो वृद्धि गराउन महत्वपूर्ण हुन्छन् ।’


क्लिकमान्डु