राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रभाणीकरण गर्नु राष्टहितविरुद्ध भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रभाणीकरण गरेपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै लामिछानेले निर्वाचनपछि जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा विधेयकलाई संसद्‍म‍ा छलफल नगराइ युरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु गलत भएको उनको भनाइ छ ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ’ लामिछानेले भनेका छन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसदको दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखबाट प्रमाणित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो ।

तर, तत्कालीन राष्ट्रपति भण्डारीले केही विषयहरूमा ध्यानाकर्षण सहित पुर्नविचारका लागि संघीय संसदमा फिर्ता पठाएकी थिइन् । यसरी फिर्ता भएको विधेयक संसद्ले जस्ताको जस्तै पुन: प्रमाणीकरणका लागि पठाएको थियो तर उनले कार्यकालको अन्तिमतिर त्यसलाई प्रमाणीकरण गरेकी थिइनन् । नयाँ निर्वाचनपछि राष्ट्रपति पौडेल चयन भए ।

तर गठबन्धन सरकारको सिफारिसमा त्यतिबेला रोकिएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।


क्लिकमान्डु