भोजपुरको षडानन्ददेखि संखुवासभासम्म विद्युत प्रसारणलाइन बन्ने



सांकेतिक तस्बिर

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकादेखि संखुवासभासम्म १८.६५ किमी लामो विद्युत प्रसारणलाइन बन्ने भएको छ ।

विद्युत विकास विभागले प्रकाशित गरेको एक सूचनाअनुसार भोजपुरको षडानन्द नगरपालिकामा रहेको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको स्विच यार्डदेखि संखुवासभाको खाँदबारी नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेसनसम्म प्रसारणलाइन बन्न लागेको हो ।

विभागका अनुसार चिरख्वा हाइड्रोपावर लिमिडेटले यो प्रसारणलाइन निर्माण गर्नेछ । प्रसारणलाइनको भोल्टेज ३३ हजार भोल्ट हुनेछ । सिंगल तथा डबल सर्किट रहने प्रसारणलाइनबाट २२.९१ मेगावाटसम्म विद्युत प्रसारण हुन सक्नेछ ।

१८.६५ किमी लामो प्रसारणलाइनमा ३७६ वटा स्टिल तथा टेलिस्कोपिक पोल रहनेछन् । प्रसारणलाइनलाई निर्माण सुरु भएको ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


क्लिकमान्डु