गोल्डेन ओक बेच्ने जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजको व्यापार १७ प्रतिशतले घट्यो



काठमाडौं । गोल्डेन ओकसहित अन्य विभिन्न प्रकारका मदिरा बेच्दै आएको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) डिस्ट्रिब्युसन प्रालिको व्यापार १७ प्रतिशतले घटेको छ ।

कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको तुलनामा  सन् २०२३ को सोही अवधिमा १७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ५ अर्ब ४० करोड ३९ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख रुपैयाँ, सन् २०२० मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीका अनुसार सन् २०२३ मा सरकारले आयातमा लागू गरिएको शतप्रतिशत मार्जिनले गर्दा व्यापारमा उच्च प्रभाव परेको उल्लेख छ ।

जेजीआई ४ वटा डिस्टिलरिज विजय, एसियन, हिमालय र रोल्वालिङ रिभरको एक मात्र वितरक हो । त्यस्तै, कम्पनीले अ ब्रुअरी र राज ब्रुअरी पनि यही ग्रुपअन्तर्गत सञ्चालन गर्दै आएको छ ।

कम्पनीले केही वाइन र बियरको पनि आधिकारिक विक्रेता पनि हो । कम्पनीमा विजयकुमार शाहको ५५ प्रतिशत र उनका छोराको ४५ प्रतिशत हिस्सा छ । देशभर ५ वटा वायर हाउस र २३७ वटा डिलर छन् ।

कम्पनीले ४०अप ब्राउन सेग्मेन्टमा गोल्डेन ओक बिक्री गर्दै आएको छ । उक्त मदिराको ग्राहक पनि उच्च रहेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ मा गरेको व्यापारमा मिश्रित ब्रान्डको हिस्सा ६२ प्रतिशत ब्राउन स्पिरिटको छ । जसमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजरर, हिमालय ब्रान्डी र अन्य मदिराको हिस्सा छ ।

त्यसबाहेक २४ प्रतिशत ह्वाइट स्पिरिटमा भोड्का, जिन र आइलाको र १४ प्रतिशत बियरको हिस्सा छ ।

कम्पनीले प्रमुख ब्रान्डको मदिरा रुस्लान भोड्काको भने बजारमा हिस्सा गुमाउँदै गएको छ । कम्पनीका अनुसार अहिले ४०अप गोल्डेन ओक र ४०अपको ब्लु डाइमन्ड जिन ब्रान्डको मदिराले व्यापार धानेको छ । जसमा उक्त दुई ब्रान्ड मदिराको हिस्सा मात्रै ६८ प्रतिशत छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ३२ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ९२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको हो ।


क्लिकमान्डु