रेशम चौधरीलाई आममाफी दिने गृहको प्रस्ताव पीडितको पत्रसहित राष्ट्रपतिद्वारा फिर्ता



काठमाडौं । टिकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने गृह मन्त्रालयको प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता गरिदिएको छ ।

प्रचलित कानुन, अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुनबमोजिम गर्न गृहमा फिर्ता पठाइएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए ।

उनका अनुसार पीडितहरुले राष्ट्रपति कार्यालयमा आममाफी नदिनु भन्दै बुझाएका पत्र पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शन हिंसात्मक बन्दा आठ प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो । सो घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरी दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएका थिए । जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतले सो फैसला सदर गरिदिएको थियो ।


क्लिकमान्डु