सर्वोच्चमा फेरि मुद्दा परेपछि लामिछानेले भने: घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकतासम्बन्धी विषयमा फेरि सर्वोच्च अदालतमा मुद्दा परेपछि ‘इरिटेट’ गर्ने पनि सीमा हुने उल्लेख गरेका छन् ।

अधिवक्ता युवराज सफलले दायर गरेको रिट सर्वोच्चले बुधबार दर्ता गरेको छ ।

मुद्दा दर्ता भएपछि लामिछानेले बिहीबार सामाजिक सञ्जालमार्फत मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको उल्लेख गर्दै भनेका छन् ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।”

यसअघि गत माघ १३ गते अमेरिकी नागरिकता लिएपछि प्रक्रिया नपुर्‍याएर पुन: नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएको थियो । त्यतिबेला उनी गृहमन्त्रीथिए । अदालतको फैसलासँगै उनको सांसदसहित गृहमन्त्री पद पनि गुमेको थियो ।

त्यसपछि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका थिए । नयाँ नागरिकता लिएपछि लामिछाने वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट फेरि प्रतिनिधि सभा सदस्यमा भारी मतसहित निर्वाचित भएका छन् ।

अधिवक्ता सफलले लामिछानेले पुन:नागरिकता लिँदा प्रक्रिया नपुर्‍याई लिएको भन्दै रिट दायर गर्दै उनको सांसद पद खारेज गर्न माग गरेका छन् ।

लामिछानेले भने सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य स्थापित गरेको उल्लेख गरेका छन् ।

र अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरि नेपाली नागरिकता पुन: कायम गराएको उनले उल्लेख गरेका छन् ।

अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफैसँग भएकाले २०८० जेठ ९ मा सर्वोच्च अदालतमा बुझाइसकेको र यसको जानकारी र सक्कल बमोजिम नक्कल २०७५ असार ६ गते अध्यागमनलाई सप्रमाण बुझाइसकेको बताउँदै यसबारे टेलिभिजनबाट घोक्रो सुक्ने गरि स-प्रमाण बोलिसकेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ ।’


क्लिकमान्डु