ग्यास लिक भई आगोलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारी तीन महिनापछि संसदमा



काठमाडौं । गत फागुन ३ मा निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन भएका उनले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गरे ।

उनले पाठ्यक्रममा बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा हुनु पर्ने बताए ।

सांसद भण्डारीले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नु पर्ने र त्यसका लागि कानुन बनाउनु पर्ने बताए ।

‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्‍यो, कानून बनाउनुपर्‍यो,’ उनले भने, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ । जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो ।’

उनले आफूलाई उद्धार र उपचार गर्न सहयोग गरेकोमा सरकारलाई धन्यवाद दिए । ‘सांसद, डाक्टर र सरकारलाई आभार र धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

उनी फागुन ३ मा काठमाडौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए । घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने उपचारका क्रममा निधन भएको थियो ।

भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनी वैशाख १७ गते स्वदेश फर्किएका थिए ।


क्लिकमान्डु