थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ: निधि



काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दाबी गरे ।

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई उनले सुझाव दिए ।

‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुको बीचमा नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु’ उनले भने,’ म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ । अव त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रीपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रुपमा सक्रिय भईदिनु प¥यो भन्ने कुरा राख्न चाहन्छु ।’


क्लिकमान्डु