दोखलाको गौरीशंकरमा ६.२ मेगावाटको लोवर खानी-बि जलविद्युत आयोजना बन्ने



काठमाडौं । दोखलाको गौरीशंकर गाउँपालिकामा ६.२ मेगावाट क्षमताको लोवर खानी-बि जलविद्युत आयोजना बन्ने भएको छ । कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालिले यो आयोजना निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै यो आयोजना निर्माण हुन लागेको जनाएको छ । विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा पर्न सक्ने असरको विषयमा ३५ दिनभित्र सुझाव पेस गर्न भन्दै सूचना निकालेर आयोजना निर्माणसम्बन्धी जानकारी दिएको छ ।

विभागका अनुसार यो आयोजना नदी प्रवाहमा आधारित हो । आयोजनाको जडित क्षमता ६.२ मेगावाट रहनेछ भने वार्षिक सरदर ३६.४३ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने विभागले जनाएको छ ।

२०८३ को पुसबाट विद्युत उत्पादन प्रस्ताव गरिएको आयोजनाबाट उत्पादित विद्युत ३० मिटर लम्बाई र २० मिटर चौडाई हुने गरी विद्युत गृहनजिकै बनाइने स्विचयार्डमा जडान हुनेछ भने ३३ केभी प्रसारणलाइनमार्फत करिब १८ किमी टाढा रहेको प्राधिकरणको सिंगटी सबस्टेसनबाट राष्ट्रिय प्रसारणप्रणालीमा जोडिनेछ ।


क्लिकमान्डु