नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई १ करोड दिएको दुई आरोपीको बयान



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव एवं हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई १ करोड रुपैयाँ दिएको बयान दुई आरोपीले प्रहरीलाई दिएका छन् ।

आरोपी सानु भण्डारी र केशवप्रसाद दुलालले तत्कालीन सचिव राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएपछि काम हुन्छ भनेको उनीहरुको बयानमा उल्लेख छ ।

क्लिकमान्डुलाई प्राप्त कागजातमा यसबारे उल्लेख छ ।

सानु भण्डारीको बयान

मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखीदिनु’ भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।

केशवप्रसाद दुलालको बयान

प्रतिवादी सानु भण्डारीले इन्द्रजित राईलाई एक करोड रकम दिइ सकेको भनी मलाई जानकारी गराएका र हामी दुवै जनाले गृह मन्त्रालयमा रहेको निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझी सकेको भनी मलाई समेत जानकारी गराएका हुन् । प्रतिवादी सानु भण्डारीले तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई गृह मन्त्रालयमा भेटी नगद रकम एक करोड दिएको भनी मलाई जानकारी गराएपछि सानु भण्डारीसँग गृह मन्त्रालय गई डा. इन्द्रजित राईसँग सचिव प्रेमकुमार राईलाई उक्त रकम पाएको कुरा जानकारी गराएका हुन् ।


क्लिकमान्डु