सेयर बजारमा किन देखियो एकाएक उछाल ?
काठमाडौं । एकाएक सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार मापन गर्ने सूचक ५१.३१ अंकले बढेर परिसूचक १९४२.६३ बिन्दुमा रोकिएको छ ।
यो दिन बजार मात्रै नभएर कारोबार रकम पनि ह्वात्तै बढेको छ । मंगलबारको बढोत्तरीलाई बैंक ब्याजसँग जोडेर हेरिएको छ । बैंकर्स संघले सोमबार आगामी महिना ब्याजदर अझ घटने भनेसँगै बजारमा सुधार देखिएको केही लगानीकर्ताहरुको बुझाइ छ ।
यो दिन २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २१.२८, विकास बैंक ८२.८६, वित्त ५१.५४, होटल १३१.०७, जलविद्युत ६४.८४, जीवन बीमा ३६५.३४, उत्पादन तथा प्रशोधन १८३, माइक्रोफाइनान्स १३७.११, निर्जीबन बीमा ३५५.२१, अन्य ३१.९८ र ट्रेडिङ समूहको उपसूचक ८०.३१ अंकले बढेको छ ।
कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ५ लाख १५ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशिया बैंक रहेका छन् ।