भान्साघर र मंगलम ब्रान्डको चामल बेच्ने जयश्री कम्पनीले एकै वर्ष गर्‍यो ३ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा भान्साघर र मंगलम ब्रान्डको चामल बेच्ने जयश्री फुड प्रालिले एकै वर्ष ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख र सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००९ मा नवलपरासीमा स्थापना भएको कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५.७९ प्रतिशतले बढेको छ । कम्पनीले धान प्रशोधन गरी चामल, चिउरा र सोया नगेट्स उत्पादन गर्दै आएको छ ।

पवकुमार अग्रवाल र सुमन अग्रवालको हिस्सा रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एथ्री रेटिङ पाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।कम्पनीअनुसार सन् २०२३ को ६ महिनाको अवधिमा १४.५ प्रतिशतले व्यापार बढेको उल्लेख छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ५.७६ प्रतिशतले नाफा कमाएको छ । त्यसमा कम्पनीले ६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२१ मा ६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले उत्पादन गरेको खाद्य सामग्री देशभर ६ सयभन्दा साना र ठूला खुद्रा पसलहरुमा बिक्री गर्दै आएको छ । कम्पनीले १ केजीदेखि ३० केजीको प्याकेजिङमा बजारमा बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु