सोना ब्रान्डमा सिमेन्ट बिक्री गर्ने सोनापुर मिनिरल्सको व्यापार १९ प्रतिशतले घट्यो



काठमाडौं । सोना ब्रान्डमा विभिन्न प्रकारका सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको सोनापुर मिनिरल्स र आयलको व्यापार १९ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १८.७२ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२२ मा माग कम हुँदा २ अर्ब ३२ करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीअनुसार सन् २०२२ मा सिमेन्टको मूल्यमा गिरावट आउँदा व्यापार कम भएको जनाएको छ ।

कम्पनीको व्यापारमा कमी आउँदा नाफा पनि ह्वात्तै घटेको छ । कम्पनीले सन् २०२१ मा २२.४६ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा १९.०७ प्रतिशत मात्रै नाफा कमाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००८ मा स्थापना भएको कम्पनी सन् २०२० मा लिमिटेड परिणत गरेको छ ।

कम्पनीले सोना सिमेन्ट ब्रान्डमा ओपीसी र सोना श्री र सोनाटेक सिमेन्ट ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीको व्यापार गर्दै आएको छ ।

कम्पनीसँगै दैनिक १२ सय ५० मेट्रिक टन ग्रान्डिङ र २३ सय मेट्रिक टन क्लिंकर सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।


क्लिकमान्डु