साना तथा मझौला कम्पनीसम्बन्धी नियमावली अर्थ मन्त्रालयमा, आईपीओ २५० कित्ताभन्दा कम भर्न नपाइने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धि नियमावली, २०८० स्वीकृतिका अर्थ मन्त्रालयमा पठाएको छ ।

बोर्डको ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेर आइतबार अर्थ मन्त्रालय पठाइएको बोर्डले जनाएको छ ।

संगठित संस्थासँग सम्बन्धित नियामक निकायले संस्थाको जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ ।

नियमावली अनुसार धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले क्रेडिट रेटिङ्ग अनिवार्य गर्नैपर्छ । आवेदकले निष्काशन गरिने सेयर मध्ये न्यूनतम २५० कित्ता खरिदको लागि दरखास्त दिनुपर्नेछ । आईपीओ निष्काशनको शेयर खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

आईपीओको बाँडफाँड पनि सोही अनुसार नै हुने छ । कम्पनीको चुक्ता पुँजी अधिकतम २५ करोड हुने छ भने न्यूनतम कम्पनी ऐनले तोके बजोजिम हुनेछ ।

यस्ता कम्पनीका रहेका सञ्चालकले सञ्चालकबाट छोडेको एक वर्ष नभइ बिक्री गर्न पाउनेछन् । त्यसका लागि सात दिन अघि सूचना प्रकाशित गर्नुपर्ने छ । यो नियमावली अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पठाउने छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि बोर्डले कार्यान्वयन गर्ने छ।


क्लिकमान्डु