लक्ष्मी र सनराइज बैंक मर्जरः स्वाप रेसियो १:१, सीइओ अजय शाह नै, आज अन्तिम सम्झौता



काठमाडौं । गत पुस २५ गते मर्जरमा सम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । लक्ष्मी सनराइज बैंकको नाममा आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सहमति जुटेपछि आज (सोमबार) दिउँसो ३ बजे मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

ड्यु डेलिजेन्स अटिडमा लक्ष्मी बैंकको १ कित्ता सेयर बराबर सनराइज बैंकको पनि १ कित्ता नै सेयर हुने गरी सोमबार अन्तिम सम्झौता गरिने सनराइज बैंकका एक सञ्चालकले जानकारी दिए ।

सम्झौताअनुसार मर्जपछि बन्ने बैंकको सीइओ अहिलेका लक्ष्मी बैंकका अजयबिक्रम शाह हुनेछन् भने तत्काल अन्तरिम सञ्चालक समितिले अध्यक्ष चयन गर्ने समझदारी भएको छ । अन्तरिम सञ्चालक समितिमा दुबै बैंकका ३/३ जना र एकजना प्राविधिकरुपमा विज्ञ रहनेछन् । र, उक्त अन्तरिम सञ्चालक समितिले अध्यक्ष चयन गर्नेछ ।

‘नाम, अध्यक्ष, सीइओ, स्वाप रेसियो सबै टुंगो लागेको छ,’ लक्ष्मी बैंक उच्च स्रोतले भन्यो, ‘आज ३ बजे र्याडिशन होटेलमाअन्तिम सम्झौता हुँदैछ।’

मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन गरिएको थियो । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका थिए ।

नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि औपचारिक रुपमा एकीकृत कारोबार हुनेछ ।

मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु